वीरगंज, २ असोज । नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) सन्तोष तामाङको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएको छ ।
महासंघले तामाङका गतिविधिले जिल्लाको पत्रकारिता वातावरण र शान्ति सुव्यवस्थामा नकारात्मक असर पारेको आरोप लगाउँदै बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाएको हो । महासंघका अनुसार एसपी तामाङले शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी वहन गर्नुभन्दा अवैध धन आर्जन गर्ने गतिविधिमा संलग्न भएको भन्ने गम्भीर सूचना सार्वजनिक रूपमा आएका छन् ।
यसबारे समाचार लेख्ने पत्रकारहरूलाई उनले अनावश्यक निगरानीमा राख्ने, प्रताडित गर्ने र व्यक्तिगत दुश्मनी लिने व्यवहार देखाएको आरोप महासंघले लगाएको छ । पछिल्लो समयमा महासंघका अध्यक्ष रमेश सुवेदीलाई एसपी तामाङले तस्करसँगको मिलिभगतसम्बन्धी समाचार लेखेको बदलामा मानसिक प्रताडना दिएको पनि महासंघको दाबी छ । सामान्य जाहेरीलाई आधार बनाएर सुवेदीलाई दुई दिनसम्म निरन्तर मानसिक यातना दिएको र जाहेरीकर्ताको पक्षमा खुलेर वकालत गरेको आरोप पत्रमा उल्लेख छ ।
यही घटनाको विरोधस्वरूप जिल्लाका अधिकांश पत्रकारहरूले हालै सम्पन्न ७० औँ प्रहरी दिवस विशेष कार्यक्रममा सहभागी नहुनुका माध्यमबाट सांकेतिक विरोध जनाएका थिए । महासंघले प्रहरी प्रमुखको दम्भपूर्ण र बदलाभावपूर्ण कार्यशैलीले प्रहरी–पत्रकारबीचको सम्बन्धमा तिक्तता बढाएको बताउँदै, पत्रकारको सुरक्षा सुनिश्चित गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण कायम गर्न सम्बन्धित निकायले तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ ।

Leave a Reply