रिलायन्स सुगर मिल्सको प्रदुषण नियन्त्रणको लागि ज्ञापन

वीरगंज, २ असोज । बाराको बंगरी नदीमा रिलायन्स सुगर इन्डस्ट्रीज (चिनी मिल) ले गर्दै आएको प्रदूषण रोक्न माग गर्दै स्थानीय युवाहरूले बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार कलैया उपमहानगरपालिका–मनगढवा, फेटा गाउँपालिका–अकवनीया र भलुही, साथै प्रसौनी गाउँपालिका–गोइठी गाउँका युवाहरूले संयुक्त रूपमा बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा श्रीपुर मनहर्वास्थित रिलायन्स सुगर मिलले उद्योगबाट निस्कने फोहोर र रासायनिक पदार्थयुक्त पानी सिधै बंगरी नदीमा मिसाउँदै आएको उल्लेख छ । यसले नदीमा व्यापक प्रदूषण फैलाएको र गाउँहरूमा दुर्गन्धका कारण विभिन्न रोगको जोखिम बढेको युवाहरूले गुनासो गरेका छन् । फोहोर पानीका कारण ब्रह्मपुरी, बेलहिया, प्रस्टोका, भतौडा, बैराटपुर, गोइठी, मनगढवा, भलुही, अकवनीया, त्रिवेणीलगायत करिब ५० भन्दा बढी गाउँहरू प्रत्यक्ष रूपमा प्रभावित भएको उनीहरूको दाबी छ । छठ पर्वको बेला श्रद्धालु भक्तजनहरूले प्रदूषित नदीमै अर्घ दिने बाध्यता रहेको भन्दै उनीहरूले प्रदूषण तत्काल रोक्न र रिलायन्स सुगर मिलविरुद्ध प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरेका छन् ।

फेटा–१ का मनिष कुशवाहाका अनुसार, “यो समुदायको स्वास्थ्य, वातावरणीय अधिकार र धार्मिक आस्थासँग जोडिएको गम्भीर विषय हो, त्यसैले हामीले प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल कदम चाल्न माग गरेका हौं ।” युवाहरूले नेपालको संविधानको धारा ३० (स्वच्छ वातावरणको हक), वातावरण संरक्षण ऐन २०७६, नियमावली २०७७ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लिखित प्रावधानहरू उद्धृत गर्दै नदीमा हानिकारक फोहोर पानी मिसाउने कार्य कानुन विपरीत भएको बताएका छन् । यदि प्रशासनले उनीहरूको मागप्रति बेवास्ता गरेमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गरेर सडकमा उत्रिने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिएका छन् ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *